Sunday, November 1, 2020

नेकपामा नयाँ ताण्डव

 मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटलाई लिएर नेकपामा सुरू भएको किचलोले लियो उग्र रुप

आइतबार कर्णालीका मन्त्रीहरु फेरिएको भए ओलीले केन्द्रमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, बिना मगरलगायतका मन्त्रीलाई हटाउने तयारी गरेका थिए 

मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्र फेरि मुख्य नेताहरूबीच शक्ति संघर्ष सुरु भएको छ । यसअघि गत वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा र असार १४ मा लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर नक्सा जारी गरेकामा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि अकासिएको विवादले नेकपा फुटको संघारमा पुगेर फर्किएको थियो ।
तर गएको भदौ २६ गते स्थायी कमिटी बैठकले पुरानो विवाद फेरि नदोहोर्‍याउने निर्णय गर्दै चैतमा पार्टी एकताको महाधिवेशन गर्ने भनी गरेको निर्णयको एउटा बुँदा पनि कार्यान्वयन नहुँदै उक्त पार्टीमा फेरि अर्को ताण्डव सुरु भएको हो । वैशाखयता नेकपाभित्रको विवाद चरम सीमामा पुगेको यो तेस्रो पटक हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर सुरु भएको किचलोले नेकपामा फेरि उग्र रूप लिएको हो । त्यसको विस्फोट अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबारको भेटघाट र आइतबार यी दुवै अध्यक्षले गरेको आफूपक्षीय नेताहरूको छुट्टाछुट्टै भेलामा भएको छ । ती छुट्टाछुट्टै छलफलमा दुवै अध्यक्षले पार्टीमा फेरि विभाजनको खतरा बढेको ब्रिफिङ गर्दै दोष अर्को पक्षको काँधमा थोपरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आफूपक्षीय नेताहरूसँगको छलफलमा आफू र अर्का अध्यक्ष दाहालका बीचमा गहिरो मतभेद भएको ब्रिफिङ गरे । उनले बिहान आफ्नै निवास बालुवाटारमा निकटस्थ नेताहरूलाई बोलाएर अब दाहालसँग थप मिलेर बस्न नसकिने अवस्था आएको भन्दै विभाजनका लागि तयार हुनुपर्ने बताए । ‘बिहान ओली आफ्ना सल्लाहकार समूहसहितको कोर टिमसँग बस्नुभयो, उहाँहरूका बीचमा अब मिल्नै नसक्ने अवस्थामा पुगिएको निचोड निस्किएपछि महासचिव विष्णु पौडेललाई पनि छलफलमा बोलाइयो,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘पौडेलले पार्टी मिलाउनुपर्छ, त्यस्तो कुरा गर्नु हुँदैन भन्नुभयो तर प्रधानमन्त्रीले पार्टी फुट्ने नै भयो, तपाईं त्यहीअनुसार गर्नुस्, अरू कुरा नगर्नुस् भन्नुभयो ।’

प्रधानमन्त्री ओलीसँगको भेटपछि नै महासचिव पौडेलले फेसबुकमा स्टाटस लेखेर पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको उल्लेख गरेका थिए । ‘राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो,’ पौडेलले लेखेका छन्, ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु दुई वर्षभित्र महाधिवेशन गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’ उनले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने उल्लेख गर्दै आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...