काठमाडौँ, कात्तिक १७ गते । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र अलमलजस्तो अवस्थामा रहेको विवादलाई मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।
तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उहाँले भेटवार्ता गर्नुहुनेछ ।
यसअघि पनि भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाल–भारतबीच उत्पन्न परिस्थितिको समाधानका लागि प्रयोग गरिएको सैनिक कूटनीतिले गौरव गर्न लायक इतिहास निर्माण गरेको थियो ।
संविधानसभाबाट जारी भएको नेपालको संविधानका केही प्रावधानप्रति विरोध जनाएर तत्कालीन मधेसवादी दलले उठाएका मुद्दा र गरेको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गरेपछि उत्पन्न विषम परिस्थितिलाई सकारात्मक अवतरण गराउन सरकारले सैनिक कूटनीति अवलम्बन गरेको थियो ।
यद्यपि नेपाल र भारतबीच सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको छ । संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाबिना एक देशबाट अर्काे देशमा सहजै आवतजावत गर्न पाउने व्यवस्था छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको तत्कालीन सरकारले दुई देशबीचको सदिऔँदेखिको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्दै परिस्थितिको सहजीकरण गर्ने उपाय खोज्न प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई निर्देशन दिएको थियो ।
No comments:
Post a Comment