मानव तस्करको फन्दामा परेर जनही ३५ लाख रूपैयाँभन्दा बढी खर्च गरिसकेका दुई किशोर खाली हात स्वदेश फर्केका छन् ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष वैशाख ११ गते भियतनामका लागि उड्दा उनीहरू भर्खर १८ वर्षमा टेकेका थिए । एक स्थानीय एजेन्टले उनीहरू दुवैलाई १८ वर्ष नकट्दै अमेरिका छिराइदिने र नाबालक भएकैले मुद्दा मामिला नगरी सजिलै उतै बस्न सकिने सपना देखाएको थियो ।
त्यही सपनाको पासोमा परेर बुबाविहीन दुवैका आमा उनीहरूका लागि ऋणधन गरेर पैसा जुटाउन कस्सिएका थिए । काठमाडौं छाडेको १९ महिनापछि कोरोना कहर छिचोल्दै उनीहरू रित्तो हात काठमाडौं ओर्लिएका छन् । यी १९ महिनाको उनीहरूको भोगाइले संगठित मानव तस्करका एजेन्टहरूको टार्गेटमा कसरी किशोरावस्था पार नगरिसकेकाहरू परिरहेका छन् र उनीहरू कुन हदसम्मको दुःख झेल्दै छन् भन्ने बुझाउँछ ।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले औपचारिक अनुसन्धान सुरु नगरिसकेको यो घटनाका पीडित दुई किशोर मोहन र हरि (नाम परिवर्तन) शनिबार राति विमानस्थल ओर्लिंदा उनीहरूसँग केही थान पुराना कपडाले भरिएको झोला मात्रै थियो । उनीहरूले सुनाए, ‘गेस्ट खोज्न आएका होटलका एक कर्मचारीले हाम्रो हालत देखेर पछि पैसा तिर्ने सर्तमा आफ्नो होटलमा ल्याए ।’ मलावीस्थित एक कल्याणकारी संस्थाले टिकट जोहो गरिदिएपछि नेपाल फर्किन पाएका उनीहरूले पछिल्ला दुई दिनदेखि सुत्न पनि नपाएको सुनाए । मोहनले भने, ‘११ महिनापछि मासु–भात खान पाएर मज्जाले निदाउन सक्यौं ।’
No comments:
Post a Comment