गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए।
नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे। त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो। ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नुभएको थियो। तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ। म भोलि लप्सीफेदीको कार्यक्रममा जानु छ। फर्किंदा तपाईंकहाँ पस्छु भन्नुभएको थियो,’ प्रदीपले भने, ‘त्यसपछि उहाँ आउनुभयो। कुरा खस्रा–मिठा भन्छन् नि ! त्यही भयो।’
पार्टीभित्र दुई अध्यक्षको पेचिलो अन्तरसंघर्ष चुलिइरहेका बेला नेताहरू शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापा, राजन भट्टराईलगायत उनलाई भेट्न शनिबार गएका थिए। भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले धेरैपछिको सामूहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो भन्दै तस्बिरसमेत सार्वजनिक गरे। उनीहरू के गर्न आए ? भन्दै वरिष्ठ नेता नेपालले प्रदीपसँग जिज्ञासा राखेको उनले सुनाए। ‘तपाईंहरू (ओली–नेपाल) मिल्नुपर्यो रे ! मलाई पनि सक्रिय भइदिनुपर्यो, तपाईं हामी सबैको अभिभावक हुनुहुन्छ भन्दै आउनुभएको थियो’, प्रदीपले माधवलाई जवाफ दिए।
No comments:
Post a Comment